सरकार भोकै बसौँ ? अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौँ?

4 minute read

Published:

-Balaram Bhattarai

Picture

कोराना सक्रमणका कारणले मुलुकको विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा जारी छ । देश, सञ्चार माध्यम र सामाजिक सञ्जाल कोरोनामय छन् । त्यस्तै तीनै तहका सरकार समेत कोरोना नियन्त्रणका लागि प्रयत्न गरिरहेको अभाष गराउने प्रयत्नमा रहेको देखिन्छ । यद्यपि कोरोना नियन्त्रणका नाममा केही पदाधिकारी र व्यक्तिको आगामी दिन उज्जवल हुने प्राय निश्चित छ । भ्रष्टाचार संस्कृति भएको देशमा यसलाई कसरी पो अन्यथा भन्न सकिएला र ? सबै क्षेत्रबाट सबैमा अनुरोध भए जस्तो लाग्छ, सुनिन्छ अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौँ । अर्थात् घरमै बसौँ, सुरक्षित बसौँ । सायद यस्तो अवस्थामा सुरक्षित बस्ने चाहना सबैको हुन्छ होला । आखिर यो अत्यावश्यक काम सबैका लागि समान हुन्छ कि पृथक ? करिब ६ महिना पुग्न थालेको यो बन्दाबन्दीमा अत्यावश्यक काम कुलिन, सभ्रान्त, सरकारी सेवामा रहेका, व्यापारी, गैरसरकारी क्षेत्र र दैनिक मजदुरी गरी आफनो आधारभूत आवश्यकता पुरा गर्ने वर्गका बीचमा फरक–फरक हुन सक्छन् कि सक्दैन ? र त्यही अनुसार नागरिकले आफुलाई व्यवस्थापन गर्ने प्रयत्न गरेको हुन्छन् ।

कसैलाई ‘वर्क फ्रम होम’ हुन सक्दछ, कसैलाई ब्याज र ऋणमा सहुलियत हुन सक्छ, कसैलाई घर भाडा मिनाहा हुन सक्छ, कसैले वर्षौँसम्म विभिन्न तरिकाले कमाएको धन प्रयोग गर्न सक्छ, कसैले भर्चुअल बैठकबाटै काम चलाएको हुन सक्छ । कसैले कोरानाकै बिचमा कमाइ रमाएको हुन सक्छ, कसैले खरिदमा कमिसन पाएको हुन सक्छ र कसैले नियुक्ति । तर दैनिक ज्यालादारी गरी खानेहरुले के गरी जिविकोपार्जन गरेका होलान् ? उनीहरुका लागि अत्यावश्यक के होला ? र त्यसको परिपूर्ति कसरी होला भन्ने तर्फ कसैको खासै ध्यान गएको देखिँदैन । केवल अत्वावश्यक काम बाहेक बाहिर ननिस्कौँ भन्ने उपदेशमात्र छ । यद्यपि यस अवधिमा कोरोना नियन्त्रणका लागि केही सकारात्मक प्रयाससमेत भएको भए पनि भोकै बस्नु पर्ने बाध्यात्मक अवस्थाको सहि पहिचान र विश्लेषण गरी नागरिकलाई बचाउने दायित्वमा आवश्यक सम्वेदनशिलता नभएको प्रष्ट छ ।

अत्यावश्यक काम सबैका लागि समान हुँदैन । सञ्चित धन र प्रविधिको प्रयोगले काम चलाइरहेकाहरुका लागि अत्यावश्यक कामको पहिचान फरक हुन सक्छ । अर्थात् घर बाहिर निस्कनाका कारण र अवस्था फरक हुन सकछन् । कसैका लागि दैनिक उपभोगका लागि बजार गइ उपभोग्य समान खरिद गरी घर ल्याउने प्रयोजन अत्यावश्यक काम हुन सक्छ । कसैका लागि दैनिक मजदुरी गरी कमाउनु अत्यावश्यक काम काम हुन सक्छ । के यी दुई अवस्थामा समानता छ ? नियमित रुपमा नेपाल सरकार, सामाजिक सञ्जालबाट प्रवाह हुने सन्देशले दैनिक मजदुरी गरी खानेहरुको वर्तमान अत्यावश्यक काम के हो भन्ने पहिचान गर्न आवश्यक छैन भन्ने देखिन्छ । भोक शान्त गर्नका लागि प्राणी अन्तिम हदसम्म जान सक्छ यो प्राकृतिक नियम हो । भोक व्यवस्थापनका लागि चेतनशिल भनिएको मानिससमेत जे पनि गर्न तयार हुन्छ । भोकले विद्रोह जन्माउँछ । यो स्थापित तथ्य हो । भोकका अगाडि कोरोनाको त्रासले समेत केही अर्थ राख्दैन । त्यसैले भोकको विकल्प दिने कि नित्य बाहिर ननिस्कौँ मात्र भन्ने यसतर्फ सरकार सचेत हुन आवश्यक छ ।

विकल्प विनाको आज्ञा, आदेश र अनुरोधको कुनै अर्थ रहँदैन । मानिस रहरले खतरामा जाँदैन र जान चाहन्न तर केही मूल्यहरु छन्, जसका लागि जस्तोसुकै खतरासंग भिड्नसमेत मानिस तयार हुन्छ । घरमा साना छोराछोरी छन्, जसले ३–४ दिनदेखि खान नपाइ टोलाइरहदा बाबु–आमाको कुनचाँहि काम अत्वावश्यक होला ? अतः गोश्वारामा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौँ भन्ने भनाइ कसका लागि के अर्थ लाग्छ र लगाउने ?

घरबाट बाहिर निस्कने विषय सबैका लागि समान हुँदैन् । नेपालमा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने वर्ग र निम्न मध्यम वर्गका व्यक्तिहरु आफू र आफनो परिवारको पेट भर्नकै लागि बाहिर निस्कनै पर्ने अवस्था श्रृजना भै सकेको छ र उनीहरुको अत्यावश्यक काम भनेकै भोकबाट मुक्तिका लागि पर्यत्न हो । यस्तो अवस्थामा घरबाट बाहिर ननिस्कौं, घरमै सुरक्षित बसौं आदि इत्यादी भय मिश्रित सुचनाले के नै अर्थ राख्ला र ? सरकार नेपालमा आज कमाएरै आजै खाने हिस्सा ठूलो छ । उनीहरु घर बाहिर ननिस्केको निकै भयो । अब उनीहरुसँग दुई वटा विकल्पमात्र छन् । या त भोकै मर्ने या त बाहिर निस्कने । यस्तो अवस्थामा उनीहरु घर बाहिर निस्कने विकल्प नै रोज्ने छन् र मलाइ लाग्छ सत्तामा बसेर नियमित रुपमा सरकारी सेवा सुविधा लिइ विभिन्न माध्यमबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौँ भन्नेहरु समेत यस्तो अवस्था भए दोस्रो विकल्प नै रोज्ने थिए । त्यसैले या त बाँच्न पाउने आधारभूत संवैधानिक अधिकार को प्रत्याभूति दिन सक्नु प¥यो । होइन भने नागरिक कसरी भोकै घरमा बस्न सक्छन् ? त्यसैले अत्यावश्यक काम सबैका लागि समान हुँदैन भन्ने तर्फ सचेत हुन आवश्यक छ ।

वर्तमान कोरोना संकटका बीच समाजका विविध क्षेत्रले जसो–तसो प्रविधिलगायतका सहयोगमा विभिन्न विकल्पको विकास गरी जीवन धानिरहेको अवस्था छ । तर यहि समाजमा रहेका पछाडि पारिएका दैनिक कामबाट जीवन निर्वाह गर्नेहरु संकटमा छन् । उनीहरुसंग शारीरिक श्रमबाहेक अन्य कुनै विकल्प छैन । यसका लागि उनीहरु घरबाट बाहिर निक्लनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा सरकारमा बस्नेहरुले दैनिक जीवन धान्न नै कठिन भएका समुदाय पहिचान गरी उनीहरुको गासको व्यवस्था गर्न आवश्यक छ ।

This article was posted in Paschim Today on 27 August 2020. This is a link to the published article.